एजेन्सी । जर्मन बुन्डेसलिगामा वोल्फ्सबर्गले बायार लेवरकुसनमाथि गोल बर्षा गरेको छ ।
मंगलबार राति भएको खेलमा वोल्फ्सबर्गले लेवरकुसनको घरेलु मैदानमा ४–१ को जित आत्मसाथ गरेको हो ।
खेलमा अग्रता पाहुना टोलीले ४३ औ मिनेटमा मारिन पोन्ग्रासिकको गोलबाट लिएको थियो । ६४ औं मिनेटमा म्याक्सिमिलियन अर्नोल्डले वोल्फ्सबर्गको अग्रता दोब्बर बनाए ।
त्यसको चार मिनेटपछि रेनाटो स्टेफिनले पाहुना टोलीलाई ३–० को अवस्थामा पुर्याएका थिए । ७५ औ मिनेटमा मारिन पोन्ग्रासिकले वोल्फ्सबर्गका लागि चौथो गोल गरेका थिए ।
खेल सकिन ५ मिनेट अघि लेवरकुसनका जुलियन बामगार्टलिङ्कगरले एक सान्त्वना गोल फर्काए ।
च्याम्पियन्स लिग छनोटको दौडमा रहेको लेवरकुसनलाई पछिल्लो हारको दबाब थपेको छ । लेवरकुसन ५३ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । वोल्फ्सबर्ग ४२ अंक सहित तालिकाको छैटौ स्थानमा यथावत छ ।
गए रातिनै भएको खेलमा आइनट्राख्ट फ्रान्कफुर्ट र फ्राइबर्गले ३–३ गोलको बराबरी खेले । फ्रान्कफुर्ट २९ अंक सहित तालिकाको १४ औं स्थानमा छ । फ्राइबर्ग ३८ अंक सहित तालिकाको सातौं स्थानमा उक्लिएको छ ।
अर्को खेलमा भेरडाआ ब्रेमेन र बोरुसिया मन्छेनग्लाडबाखले गोल रहित बराबरी खेल्दै अंक बाँडे । अंक बाँड्न परेपछि ब्रेमेनमाथि रेलिगेशनको दबाब थप बढेको छ । मन्छेनग्लाडबाख अंक जोड्दै लिग तालिकाको शीर्ष चारभित्र अटाउन सफल भएको छ ।