एजेन्सी । ब्राजिलका लिजेण्ड पेलेले पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वको उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा पेलेले अहिलेको अवस्थामा बार्सिलोनाका लियोनल मेस्सी भन्दा युभेन्ट्सका रोनाल्डो उत्कृष्ट भएको दाबी गरेका हुन् ।
विश्व फुटबलका लिजेण्ड पेलेले विश्व फुटबलमा अहिलेका स्थिर खेलाडी भएको बताए । तर, उनले मेस्सीलाई बिर्सन नहुने समेत बताए ।
'मलाई लाग्छ अहिले रोनाल्डो सबैभन्दा स्थिर खेलाडी हो । तर, तपाईले मेस्सीलाई बिर्सनुहुन्न,' पिलहडो च्यानलसँग पेलेले भने ।
विश्व फुटबलमा मेस्सी र रोनाल्डोबीच को उत्कृष्ट भन्ने बिषयमा लामो समयबाट विवाद रहदै आएका छन् । दुवैले विश्व फुटबलमा थुप्रै कीर्तिमान समेत बनाएका छन् । तर, ७९ वर्षे पेलेले रोनाल्डो उत्कृष्ट भएको दाबी गरेका हुन् ।
फुटबलको सर्वोच्च उपाधि बालोन डी'ओरको पछिल्लो १२ संस्करणमा मेस्सी र रोनाल्डोले संयुक्त ११ पटक जितेका छन् । मेस्सीले ६ पटक जित्दा रोनाल्डोले ५ पटक जितेका छन् ।
यस सिजन मेस्सीले २२ गोल गरेका छन् । यस्तै रोनाल्डोले २५ गोल गरिसकेका छन् ।
यस्तै पेलेले विश्व फुटबलमा आफु सर्वकालीन महान खेलाडी भएको समेत बताए ।
'यो मेरो गल्ती होइन । तर, मलाई लाग्छ तिनीहरु सबै भन्दा म राम्रो हुँ । त्यहाँ एक पेले मात्र हुनेछ। त्यहाँ म जस्तो अरु कोही हुनेछैन,' उनले भने ।