एजेन्सी । स्पेनिस महारथी क्लब रियल मड्रिडले फरवार्ड ग्यारेथ बेललाई बेच्ने तयारी गरेको छ । उसले आगामी समर ट्रान्सफरमा बेललाई बाहिर पठाउन विकल्पलाई खुल्ला राखेको हो ।
रियल प्रशिक्षक जिनेदिन जिदानले बेललाई क्लबमा खासै वास्ता गरेका छैनन् । सोही कारण रियलले बेललाई क्लब बाहिर पठाउने विकल्प अघि सारेको हो ।
महङ्गो तलबले बेल प्रिमियर लिग फर्कन कठिन छ ।
जिदानले बेललाई टिम बाहिर राख्न सक्दो कोशिश गरेका छन् । उनले यस सिजन सबै प्रतियोगितामा मात्र १८ पटक बेललाई अवसर दिएका छन् ।
प्रशिक्षकसंगको बिग्रदो सम्बन्धका कारण रियलले बेललाई छाड्ने तयारी गरेको हो ।
३० बर्षका वेल्सका फरवार्डले सिजनको १३ दशमलव ४ मिलियन पाउण्ड तलब पाउँदै आएका छन् । उनी गत सिजन चाईनीज सुपर लिग क्लबसंग समेत जोडिएका थिए । तर अन्तिम समयमा रियलले बेललाई बेच्न अनिच्छिा देखाएको थियो ।
बेल पछिल्लो समय प्रिमियर लिग क्लब टोटेनहमसंग समेत जोडिएका थिए । तर महङ्गो तलबका कारण बेल प्रिमियर लिग क्लब फर्कने सम्भावना कठिन रहेको बेलका एजेन्टले बताउने गरेका छन् ।
बेल अमेरिकन लिग एमएलएस जान सक्ने सम्भावना प्रबल छ । सन् २०१३ मा बेल महङ्गो रकममा टोटेनहमबाट रियल आएका थिए । उनले स्पेनमा सुखद सुरुवात समेत गरे । तर जिदानसंगको खराब सम्बन्ध र चोटका कारण उनी विस्तारै ओझेल पर्दै गएका छन् । चोटका कारण उनले टिममा समेत नियमित स्थान बनाउन सकेका छैनन् ।
मड्रिडले बेललाई कम तलबमा राख्न सम्भावना पनि बाँकीनै छ । उनको रियलसंगको सम्झौता सन् २०२२ सम्म छ । तर बेलले कम तलबको प्रस्ताव अस्विकार गर्दै आएका छन् ।
रियलले यसै सिजन लुका जोभिकलाई समेत बेच्ने तयारी गरेको छ । जोभिकले यस सिजन मात्र दुई गोल गरेका छन् । गत सिजन उनी फ्रान्कफर्टबाट स्पेनिस महारथी क्लबमा अनुबन्धित भएका थिए ।