एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले लेस्टर सिटीलाई हराएको छ । शनिबार राति लेस्टरको घरेलु मैदानमा भएको खेलमा सिटीले १–० को जित निकालेको हो ।
सिटीको जितमा ग्याब्रियल जिससले खेलको ८० औ मिनेटमा विजयी गोल गरेका थिए । बेन्चबाट मैदान छिर्दै जिससले गोल गरेपछि लिगमा सिटीले तीन अंक बटुल्न सफल रह्यो ।
घरेलु टोलीका जेमी भार्डी सहित दुवै टिमले गोलका प्रसस्त अवसर गुमाएका थिए ।
जितसंगै सिटीले तेस्रो स्थानको लेस्टरसंग ७ अंकको अग्रता कायम गरेको छ । युरोपेली फुटबलमा दुई बर्षको प्रतिबन्ध लागेपछि सिटीले दोस्रो जित आत्मसाथ गरेको हो ।
भारका कारण खेलमा केही विवादास्पद निर्णयहरु भए ।
सिटीका इल्के गुन्डोगनको प्रहार डेनिस प्रेटको हातमा लागेपछि पाहुना टोलीले पेनाल्टीका अवसर पाएको थियो । जसमा फरवार्ड सर्जियो अग्युरो गोल गर्न चुकेका थिए ।
तर जेम्स माडिसनको फ्रिकिक प्रहार डिबक्स भित्र रहेका केभिन डी ब्रुईनको हातमा लाग्दा समेत घरेलु टोली पेनाल्टीबाट बञ्चित रह्यो ।
सिटी ५८ अंक सहित तालिकाको दोस्रो स्थानमा यथावत छ । लेस्टर ५० अंक सहित तेस्रो स्थानमा छ । लिग लिडर लिभरपुल १९ अंकको अग्रता लिन सफल छ ।