एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति ६ खेल हुदैछ । शीर्ष चारको दौडमा रहेको चेल्सीले टोटेनहम हट्सपरसंग खेल्दैछ ।
लण्डन शहरका दुई क्लब शीर्ष चारको दौडमा छन् । चेल्सी ४१ अंक सहित चौथो र टोटेनहम पाँचौ स्थानमा छ ।
शनिबार रातिको नतिजाले शीर्ष चारमा रहदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने टोलीको सम्भावना प्रबल बनाउनेछ ।
पूर्व क्लब चेल्सीलाई हराउँदै शीर्ष चारमा उक्लिने अवसर जोसे माउरिन्होको टोली टोटेनहमलाई छ । चोटका कारण पिरोलिएका दुवै टोलीमा केही स्टार खेलाडी हुने छैनन् ।
जोसे माउरिन्होले ह्यारी केन, सन ह्युङ मिन र मौसा सिसोको बिनाको टिम मैदान उतार्ने छन् । चेल्सी प्रभावशाली मिडफिल्डन एनगोलो कान्टे सहित क्रिस्टियन पोलिसिक बिनै मैदान उत्रनेछ ।
स्टामफोर्डमा आतिथ्यता प्रदान गर्दै गर्दा चेल्सी म्यानेजर फ्रान्क लाम्पार्डले प्रशिक्षक जासे माउरिन्होको प्रशंसा गरे ।
'उनी निकै राम्रा म्यानेजर हुन् । उनी प्रति मेरो ठुलो सम्मान छ । उनी र मेरो प्रतिस्पर्धाको बिषय सोचेको छैन ।' लाम्पार्डले भनेका छन् ।
माउरिन्होले समेत लाम्पार्डको प्रशंसा गरे ।
'उनीले शीर्ष चारमा आफुलाई राख्न निकै मेहनत गरेका छन् ।' उनले भने, 'अवस्था निकै नाजुक छ । ढुक्क हुने अवस्था छैन । चोटले दुवै टिमलाई सताएको छ । यदी शीर्ष चारमा रहन सकियो भने त्यो साच्चिकै राम्रो उपलब्धि हुनेछ ।'
आजै राति हुने अन्य खेलमा वर्नलीले घरेलु मैदानमा वर्नेमाउथलाई आतिथ्यता प्रदान गर्दा क्रिस्टल प्यालेस न्युक्यासल युनाईटेडको भ्रमणमा निस्कनेछ ।
यस्तै, सेफिल्ड युनाईटेडले ब्राईटनलाई आतिथ्यता प्रदान गर्दा साउथह्याम्टन भने एस्टन भिल्लाको भ्रमणमा निस्कनेछ । अर्को खेलमा लेस्टर सिटीले म्यान्चेष्टर सिटीलाई घरेलु मैदानमा बोलाउनेछ ।