धनगढी। चौंथो संस्करणको सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपमा शनिबार एक खेल हुँदैछ ।
धनगढी रंगशालामा जारी प्रतियोगिताको दोस्रो खेलमा 'ए' डिभिजनका दुई टिम प्रतिस्पर्धा गर्ने छन् । दिउँसो २:३० बजे सुरुहुने खेलमा विभागीय टिम एपीएफ र न्युरोड टिम एनआरटी भिड्ने छन् ।
एनआरटी प्रकाश बुढाथोकीको कप्तानीमा र एपीएफ टोप बहादुर बिष्टको कप्तानीमा मैदान उत्रने छन् । दुई टोलीबीचको विजेता टिमले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
यस अघि शुक्रबार भएको उद्घाटन खेलमा सर्लाहीको बागमती क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै भारतको कंचनजंगा एफसी क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।
सुदूरपश्चिम स्पोर्ट्स क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । देशकै सर्वाधिक राशिको मोफसल प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।
यस्तै आयोजनकले खेल हेर्न आउने एक भाग्यशाली दर्शकलाई रेड्मीको मोबाईलबाट पुरस्कृत गर्नेछ ।