एजेन्सी । सिरि ए फुटबलमा ईन्टर मिलानलाई हराउँदै लाजियो उपाधि होडमा देखिएको छ ।
आईतबार राति ईन्टर मिलानलाई २–१ गोल अन्तरले हराउँदै लाजियो लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । लाजियो शीर्ष स्थानको युभेन्ट्स भन्दा एक अंकले पछाडी छ ।
दोस्रो स्थानको लाजियोको ५६ अंक छ । ईन्टर मिलान ५४ अंक सहित तेस्रो स्थानमा छ । युभेन्ट्स ५७ अंक सहित शीर्ष स्थानमा छ ।
एस्ले योङले ईन्टरका लागि लिगको पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनी गत महिनामात्र प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडबाट ईन्टर मिलान आएका थिए ।
सिरि एका सर्वाधिक गोलकर्ता सिरो ईमोबाईलले पेनाल्टीमा गोल गर्दै ५० औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
६९ औ मिनेटमा मिल्न्किोभिक सेविकले गोल गर्दै लाजियोलाई महत्वपूर्ण जित दिलाए ।
एन्टोनी कोन्टे ईन्टरको मुख्य प्रशिक्षकमा आएपछि क्लबले लिगमा दोस्रो हार ब्यहोरेको हो । उनले सिरि ए आएपछि प्रिमियर लिगका ५ खेलाडीलाई क्लबमा अनुबन्धन गरेका थिए ।