काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय टिमका गोलरक्षक अर्पण कार्की रहेको जे जे स्पोर्ट्स क्लबले माल्दिभ्सको दोस्रो डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।
मालेमा मंगलबार राति भएको खेलमा राष्ट्रिय यू-१९ टिमलाई १-० गोल अन्तरले हराएर जे जे स्पोर्ट्सले लगातार दोस्रो जित निकालेको हो ।
अर्पण यू-१९ विरुद्ध जे जे स्पोर्ट्सको पहिलो रोजाईमा पर्दै मैदान उत्रिएका थिए ।
पहिलो खेलमा जे जेले धिभिही सिफैन्गे क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
अर्पणले जे जे स्पोर्ट्सबाट लगातार दोस्रो सिजन खेलिरहेका हुन् । गत सिजन पनि अर्पणले जे जे स्पोर्ट्सबाटै खेलेका थिए ।
माल्दिभ्सकै लिगका लागि अर्पणले सहिद स्मारक 'ए' डिभिजन लिग खेलेनन् । माल्दिभ्सको क्लबसँग सम्झौता भएसँगै उनले नेपाली क्लबसँग सम्झौता नगरेका हुन । अर्पणले गत सिजन नेपाल पुलिस क्लबबाट लिग खेलेका थिए । लगतै उनले पारो एफसीबाट भुटानी लिग खेलेका थिए ।
अर्पणको टिम जे जे स्पोर्ट्स गत सिजनको उपबिजेता टिम हो । तर, एक मात्रै टिम बढुवा हुने भएपछी जे जे स्पोर्ट्स दोस्रो डिभिजनमै रहेको हो । यस सिजन भने २ टिम बढुवा हुने बताएको छ ।
माल्दिभ्सको दोस्रो डिभिजनको लिगमा ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।