काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि कतार जाने नेपाली राष्ट्रिय यू-२३ फुटबल टिमको विदाई गरिएको छ ।
कतारको दोहामा म्यानमारको यू-२३ टिमसँग हुने मैत्रीपूर्ण खेलका लागि जाने नेपाली टोलीको मंगलबार विदाई गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल र अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ लगायतले नेपालीको टोलीको विदाई गरे ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिमले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोहामा हुने म्यानमार र नेपालबीचको खेल कात्तिक ८ गते शुक्रबार हुनेछ ।
२४ खेलाडीसहित ३० सदस्सीय नेपाली टिम बेलुका ९:४० मा दोहा प्रस्थान गर्ने छन् ।
साग टिममा रहेका तीन खेलाडी किरण चेम्जोङ, रोहित चन्द र विमल घर्ति मगर भने कतार जाने छैनन् । तीनै खेलाडी विदेशमा क्लब फुटबलमा व्यस्त रहेका छन् ।
किरण भारतीय आईलिग टिम मिनेर्वा पन्जाबको टिममा रहेका छन् । यस्तै रोहित इन्डोनेसियाको लिगमा पर्सिजा जकार्तामा रहेका छन् । विमल माल्दिभ्सको क्लब टिसी स्पोर्ट्सको टिममा रहेका छन् ।
कतार जाने टिम :
गोलरक्षक : अर्पण कार्की, दिप कार्की, देव लिम्बु
डिफेन्डर : दिनेश राजबंशी, सुमन अर्याल, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ, रोमन लिम्बु
मिडफिल्डर : हेमन्त थापा मगर, बिक्रम लामा, सुनिल बल, तेज तामाङ, सुजल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, राम चन्द्र वाजी, अन्जन बिष्ट
स्ट्राइकर : अभिषेक रिजाल, रेजिन सुब्बा, राजिब लोप्चान, प्रिजेन तामाङ, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ