एजेन्सी । स्पेन युरोकप फुटबलमा छनोट भएको छ ।
तीन पटकको च्याम्पियन स्पेन युरोकपमा छनोट भएको हो ।
मंगलबार राति समुह एफको खेलमा स्विडेनसंग १–१ गोलको बराबरी खेल्दै स्पेन अर्को बर्ष हुने प्रतियोगिताका लागि छानिएको हो ।
स्पेनलाई छनोट हुन मात्र १ अंकको आवश्यकता थियो ।
दोस्रो हाफको ईन्जुरी समयमा रोड्रिगोले गोल गर्दै स्पेनको अंक जोडेका थिए ।
खेलमा अग्रता स्विडेनले लिएको थियो । खेलको ५० औ मिनेटमा मार्कस बर्गले गोल गर्दै स्विडेनलाई अगाडी बढाएका थिए ।
दोस्रो हाफमा चोट बोक्दै मैदान छाड्नु अघि स्पेनका गोलकिपर डेभिड डी जियाले रोबिन क्वेसनको उत्कृष्ट हेडको बचाउ गरेका थिए ।
चोटसंगै प्रिमियर लिगको आईतबारको खेलमा जिया लिभरपुलविरुद्व उत्रने सम्भावना कम छ ।
समुह एफबाट स्पेनले ८ खेलबाट २० अंक जोड्यो । स्पेनले दुई खेल बाँकी छदाँ तेस्रो स्थानको रोमानियासंग ६ अंकको अग्रता लिएको हो ।
स्पेन युरोकपमा छनोट हुने छैटौ टिम बनेको छ । यसअघि बेल्जियम, ईटाली, रुस, पोल्याण्ड र युक्रेन प्रतियोगितामा छनोट भईसकेका छन् ।