एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न पाँच खेल हुँदैछ । प्रिमियर लिगमा शनिबार साविक विजेता म्यानचेस्टर सिटी, टोटेनहम, एभर्टन, लगायतका टिमले प्रतिस्पर्धा गर्नेछ ।
यस सिजन उपाधि दाबेदार सिटीले घरेलु मैदानमा वाट्फोर्डको सामना गर्दैछ । इतिहाद स्टेडियममा सिटी र वाट्फोर्डबीचको खेल ७:४५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा सिटी जित निकाल्दै लिग लिडर लिभरपुलसँगको अंक दुरी कम गर्न चाहन्छ । दोस्रो स्थानको सिटीले ५ खेलमा १० अंक जोडेको छ । लिभरपुलको १५ अंक रहेको छ ।
यता, वाट्फोर्ड पहिलो जितको खोजीमा हुनेछ । ५ खेलमा २ बराबरी र ३ हार व्यहोरेको वाट्फोर्ड पुछारमा रहेको छ । तर, वाट्फोर्ड सिटीलाई उसैको मैदानमा हराएर पहिलो जित निकाल्न चाहन्छ । त्यसैले सिटी वाट्फोर्डसँग शतर्क भएर खेल्नेछ ।
यस्तै टोटेनहमले लेष्टरसँग उसैको मैदानमा खेल्नेछ । लेष्टर र टोटेनहमबीचको खेल ५:१५ मा सुरु हुनेछ । दुवै टिम तेस्रो जित निकाल्ने योजनामा हुनेछन् ।
एभर्टनले घरेलु मैदानमा सेफिल्ड युनाईटेडसँग खेल्नेछ । प्रिमियर लिग अन्तर्गत अन्य खेलमा बर्नलीले नर्विच तथा न्युकासलले ब्राइटनसँग खेल्नेछ ।