एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई ४-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले ह्याट्रिक गरे । यस्तै लिएन्ड्रो डानिलले एक गोल थपे ।
मेक्सिकोविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो ।
खेलको १७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औं मिनेटमा मार्टिनेजले अर्जेन्टिनाको अग्रता २-० को बनाए ।
३३ औं मिनेटमा डानिलले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ३९ औं मिनेटमा मार्टिनेजले गोल गर्दै ह्याट्रिक पुरा गर्दै अर्जेन्टिनालाई ४-० को जित दिलाए ।