एजेन्सी । ब्राजिली स्टार नेयमारको बिषयमा औपचारिक छलफल गर्न स्पेनिस क्लब बार्सिलोनाले टेक्निकल म्यानेजर सहितको टिम पेरिस पठाएको छ ।
बार्सिलोनाले टेक्निकल म्यानेजर ईरिक अबिडाल सहितको टोलीलाई नेयमारको बिषयमा छलफल गर्न फ्रान्स पठाएको हो ।
स्पेनिस मिडियाका अनुसार दुवै पक्ष नेयमारको बिषयमा सहमती नजिक छन् । अबिडाल सहित बार्सिलोनाका बोर्ड सदस्यको टोली फ्रान्स पुगेको छ ।
बार्सिलोनाले नेयमारका लागि सय मिलियन युरो सहित फिलिप कौटिन्होलाई पीएसजीलाई दिन सकिने विकल्प सहित छलफल अघि बढाउने तयारी गरेको छ ।
नेयमारले स्पेनमा चार सिजन बिताएका थिए । उनी, लियोनल मेस्सी र लुईस स्वारेज सहितको जोडी बार्सिलोनामा निकै जमेको थियो । तीनै फरवार्डको सहयोगमा बार्सिलोनाले दुई लिग उपाधि सहित सन् २०१५ को च्याम्पियन्स लिग जितेको थियो ।
ब्राजिली स्टार नेयमारले बार्सिलोनाको जर्सीमा १ सय ८६ खेलमा १ सय ५ गोल गरेका थिए । फ्रान्सेली लिग वानको पहिलो खेलमा पीएसजीका समर्थकले नेयमारलाई क्लब छाडेर जान भन्दै नाराबाजी गरेका थिए । सो खेल पीएसजीले ३–० ले जितेको थियो ।
सन् २०१७ मा नेयमार विश्व कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पीएसजी गएका थिए । उनले ५८ खेलमा ५१ गोल गरेका थिए ।