काठमाडौं ।
आज जेठ ८ गते । सरकारले भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको दुई बर्ष पुरा भएको छ ।
तर नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माको भनाईलाई मान्ने हो भने आम मानिसमा भलिबल राष्ट्रिय खेल हो भन्ने सामान्य जानकारी समेत छैन । उनले पछिल्लो एक कार्यक्रममा सार्वभौम संसदका सांसद समेत राष्ट्रिय खेलको बिषयमा अनबिज्ञ रहेको खुलाए ।
उनको एउटै गुनासो छ, राष्ट्रिय खेलको मान्यता पाएको भलिबललाई प्रचार प्रसार गर्न सकिएको छैन । धेरै सार्वजनीक कार्यक्रममा उनी भलिबल राष्ट्रिय खेलको रुपमा रहेको प्रचार गर्न छुटाउदैनन् ।
संघका अध्यक्ष शर्माकै भनाई सापटी लिने हो भने सरकारले भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा त ग¥यो, तर यसको विकास र श्रीवृद्विका लागि कार्य योजना अघि सार्न सकेन ।

सोही कारण नेपालको भलिबलले गुणात्मक फड्को मार्न सकेको छैन । राष्ट्रिय खेलको रुपमा गौरव गर्न बाहेक राज्यले भलिबललाई गर्ने सहयोगको कुनै वृद्वि भएको छैन ।
घरेलु खेलकुदको लोकप्रिय खेल भलिबलले राष्ट्रिय खेलको मान्यता पाएपछि भलिबलमा आबद्व धेरै खेलकर्मी हर्षित र उत्साहीत भए । तर राज्यले अन्य खेल जस्तै भलिबललाई समेत उपेक्षा गर्दा सबै निराश देखिन्छन् ।
भलिबल दिवसका अवसर आज (बुधबार) हामीले पुर्व राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक कपिल किशोर श्रेष्ठसंग नेपाली भलिबलको विगत, वर्तमान अवस्था र यसको भविष्यको बिषयमा रहेर कुराकानी गरेका छौ ।
भलिबलको ईतिहास
नेपाली भलिबलको लामो ईतिहास छैन । करिब २०३० सालदेखि सुरु भएको हो । पहिलो नतिजा आठौं सागमा महिला भलिबलले काँस्य जितेको थियो । साउथ एसियन च्याम्पियनसिपमा महिला टिमले रजत पदक ल्याएको थियो । पुरुष टिमले काँस्य पदक ल्याएको थियो ।
महिला भलिबल टिमले सबै साफ प्रतियोगितामा काँस्य पदक ल्याएका छन् । हाम्रो खेलको स्तर र नतिजा धेरै राम्रो भैसकेको छैन ।
पहिला भन्दा भलिबलको विकास धेरै भएको छ, तर जस्तो हुनुपर्ने हो त्यो भएको छैन । २०३० सालदेखि राष्ट्रिय प्रतियोगिता जसरी भईरहेका छन्, अवस्था अहिलेसमेत त्यही छ । व्यवस्थापनको कमीले गर्दा हुनुपर्ने विकास नभएको हो भन्ने लाग्छ ।
वर्तमान अवस्था
हाम्रो अवस्था नराम्रो हैन । तर खेलाडीले पाएको अभ्यास र सुविधालाई बढाउन सकेको खण्डमा अझ धेरै राम्रो गर्न सक्छौ । भलिबल भनेको शारीरिक व्यायाम नै हो । अहिलेका महिला पुरुष खेलाडी अग्ला छन् ।
भलिबललाई योजना बनाएर लैजान सकियो भने धेरै माथि जान सक्छौ । साफमा महिलातर्फ स्वर्ण ल्याउन सक्छौ । सफलताको नजिक छौ ।
पुरुष टिमले पनि काँस्य पदक ल्याइसकेको छ । त्यो भन्दा अझै माथि जान सक्छौं । योजना बनाएर अघि बढ्यौ भने सम्भावना धेरै छ ।

भलिबलको भविष्य
भलिबल एकदमै लोकप्रिय छ । राष्ट्रिय खेल पनि हो । अहिले जिल्ला, प्रदेशमा भएको खेलबाट खेलाडीलाई फुर्सदै छैन ।
तर खेल मात्र भएको छ, अभ्यास भएको छैन । हामी सबैले दिर्घकालिन योजना बनायौ भने राम्रो नतिजा ल्याउन सक्छौ ।
राष्ट्रिय खेलको गरिमा
भलिबल राष्ट्रिय खेल भयो तर हुनु र नहुनुले केही फरक पारेको छैन । खेल चलिरहेको छ । राष्ट्रिय खेल भनेपछि सरकारबाट बिशेष सहयोग आउनुपर्ने हो ।
सरकारबाट चाहिने त आर्थिक सहयोग नै हो । यसलाई विद्यालय स्तरबाट अघि बढाउन सकेमा भलिबल धेरैमाथि पुग्ने थियो ।
खेलकुदको नयाँ नीतिले केही परिवर्तन आउँछ कि भन्ने आश गर्न सकिन्छ । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दुई बर्ष बितेको छ । तर केही पनि सहयोग सरकारबाट पाएका छैनौ । भलिबललाई राष्ट्रिय खेलको रुपमा मनाईरहेका छौ । तर यसको नाफा भलिबलले पाएको छैन ।
दक्षिण एसियामा महिला र पुरुष भलिबलको सम्भावना कति ?
दक्षिण एसिया मात्र भन्ने हो भने महिला भलिबलले चाँडो नतिजा ल्याउन सक्छ । दक्षिण एसियामा धेरै मुस्लिम देश छन् । जसले गर्दा उनीहरु अलि कमजोर छन् । भारत, श्रीलंका र नेपालबीच मात्र प्रतिस्पर्धा छ ।
पुरुष भलिबलमा भारत निकै बलियो छ । त्यसपछि पाकिस्तान र श्रीलंङ्का राम्रो टिम हुन् । त्यहीं भएर नेपालको पुरुष भलिबल तल परेको हो । तर तुलनात्मक रुपमा पुरुष टिम राम्रो छ । उनीहरुको प्रर्दशन धेरै राम्रो र माथि छ । तर साफ खेलको नतिजा हेर्दा कमजोर देखिन्छ ।
प्रस्तुती : गीता राई र रमेश सुबेदी ।