वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज शनिबार घरेलु टोली र वेस्ट इन्डिज भिड्दै छन् ।
दुई टोलीबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।
तेस्रो खेल खेल्दै गरेको दुवै टोलीले पहिलो दुई खेलमा सहज जित दर्ता गराएका थिए ।
दुवै टोलीको सुपर सिक्समा प्रवेशको सम्भावना बलियो रहेको छ । आजको खेलको विजेता एक खेल अगावै सुपर सिक्समा प्रवेश गर्ने भएकोले दुवैका लागि यो खेल महत्वपुर्ण रहेको छ ।
प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ए मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन् ।
हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ ।
सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई उपाधिका प्रमुख दाबेदार मानिएको छ । जिम्बाबे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ ।
नेपाल, स्कटल्यान्ड र ओमान आइसीसी विश्वकप लिग टू मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र युएई लिग टू बाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।
श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बावे आइसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।