काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा श्रीलंकाविरुद्ध ओमान ९८ रनमा अलआउट भएको छ ।
जिम्बावेको राजधानी हरारेमा रहेको क्विन्स स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३० दशमलब २ ओभरमा ९८ रन बनाउदै अलआउट भयो ।
ओमानका लागि आयान खानले ६० बलमा ४ चौकाको सहयोगमा ४१ रन बनाए । आयान वानिन्दु हसरंगाको बलमा आउट भएका थिए । ओमानका कुनै खेलाडीहरुका बीचमा श्रीलंकाका बलरहरुले साझेदारी बन्न दिएनन् ।

पाँचौ विकेटका लागि आयान खान र जतिन्दर सिंहले ६४ बलमा ५२ रनको बलियो साझेदारी गरेका थिए । सिंह ४३ बलमा २१ रनमा वानिन्दु हसरंगाको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो ।
फैयज बटले २८ बलमा अविजित १३ रन जोडेका थिए ।
फैयज बट, आयान खान र जतिन्दर सिंह बाहेक ओमानका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ५ तथा लाहिरु कुमाराले ३ विकेट लिए । कसुन रन्जिथाले १ विकेट आफ्नो नाम गरे ।
पहिलो खेलमा युएईलाई फराकिलो अन्तरले पराजित गरेको श्रीलंका आज पनि सोहि लयका साथ मैदान उत्रिएको छ । उपाधी दावेदार मानिएको श्रीलंका आजको खेलमा जित दर्ता गर्दै सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ ।
उता, सुरुआती दुई खेलमा जित दर्ता गरेको ओमान आज पनि सोहि नतिजा दोहोर्यायन चाहन्छ । श्रीलंकालाई पराजित गरि ओमान सुपर सिक्समा स्थान बनाउने पहिलो टोली बन्न चाहन्छ ।