प्रयास गरेका थियौँ, भाग्यले साथ दिएन : अमिषा

काठमाडौं । नेपाली यू-२० राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अमिषा कार्कीले साफ च्याम्पियनसिपमा नेपालले प्रयास राम्रो गरेको तर भाग्यले साथ नदिएका कारण उपाधी जित्न नसकेको बताएकी छिन् ।
उपविजेता बनेर फर्किएको नेपाली टोलीकी फरवार्ड कार्कीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुराकानीका क्रममा खेलाडीहरुले पूरा मेहनतका साथ खेलेका तर भाग्य बंगलादेशको पक्षमा रहेकाले नेपाल उपविजेतामा सिमित बनेको बताईन् ।
'फाइनल खेलमा बंगलादेशलाई हराउँछौ भनेर पूरा मेहनत गरेको तर लकले साथ दिएन नै भनौ । एज लेभलको खेलमा हामीले कुनै मेडल ल्याउन सकिरहेका थिएनौ । यस पटक भने ल्यायौ । एज लेभलका नि गर्न सक्छन् भनेर हामीले देखायौ । आशा गरौं अर्को पटक ट्रफि हाम्रोमा आउने छ ,' कार्कीले भनिन् 'बंगलादेशले धेरै समय अभ्यास गर्यो होला हामीहरु पनि उनीहरु भन्दा कम थिएनौ । हामीले पनि पूरा दिएको हो उनीहरुले पनि दिए । त्यही हो होम क्राउडको सहयोग उनीहरुमा रह्यो र जिते ।'
बिहीबार भएको फाइनल खेलमा आयोजक बंगलादेशसँग ३-० ले पराजित भएको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको हो । यसभन्दा अघि एज लेभलको कुनै पनि मेडल नेपाल नआएको तर यस पटक लिएर आउन पाउँदा खुसी लागेको उनले बताईन् ।
'सिनियर टोलीमा रहेर पनि मैले धेरै कुराहरु सिके यहाँ आएर पनि सिके । सिनियर टोलीको अनुभवले हाम्रो कन्फिडेन्ट पनि बढाउदो रहेछ ,' कार्कीले थपिन्, 'पहिलो गेम चै बंगलादेशसँग खेल्दा खेरी त्यहाँ मैदान सबै कुरा थाहा थिएन । हामीले यहाँ एउटा बलबाट अभ्यास गरेका थियौं । तर, त्यहाँ अर्कै बल थियो । बंगलादेशले त्यही बलले त्यही मैदानमा अभ्यास गरेकाले सजिलो भयो ।'












-1763569877271.jpg&w=3840&q=75)
