इटहरी । पुनरागमन जित निकाल्दै सगरमाथा युथ क्लब विराटचोक १२ औं संस्करणको इटहरी गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
इटहरी रंगशालामा बिहीबार मनाङ मर्स्याङ्दी क्लबलाई ४-२ गोल अन्तरले हराउँदै सगरमाथा उपाधि नजिक पुगेको हो ।
दुई गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको सगरमाथाले अब उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
सगरमाथालाई जित दिलाउन आशिष लामाले २ गोल गरे । भुवन बस्नेत र आभाष लामिछानेले १/१ गोल गरे ।
कप्तान अञ्जन विष्टको गोलबाट खेलको २१ औं मिनेटमा मनाङले सुरुवाती अग्रता लिएको थियो । अञ्जनको फ्रिकिक प्रहारले सिधै जाली चुमेको थियो । ३० औं मिनेटमा अफिज ओलवालेले अग्रता दोब्बर बनाए । सुमन लामाको क्रसमा उनले वान भर्सेस वानको अवस्थामा गोल गरे ।

पहिलो हाफको अग्रतालाई जोगाउन नसक्दा मनाङले दोश्रो हाफमा ४ गोल व्यहोर्न पुग्यो । ६६ औं मिनेटमा मनाङका डिफेन्डरले डिवक्सभित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई आशिष लामाले गोलमा परिणत गरे ।
६९ औं मिनेटमा आशिषले खेल बराबरीमा ल्याए । निशान खड्काको क्रस पासमा आशिषले जाली चुमाए । गोलरक्षक विशाल सुनार विट भएको अवस्थामा आशिषको प्रहारलाई डिफेन्डर दिनेश राजवंशीले बचाउन सकेनन् । निक्कै दबाबमा परेको खेलमा मनाङका खेलाडीहरु सम्हालिएर खेल्न नसक्दा १३ मिनेट भित्रमा थप २ गोल व्यहोर्न पुगे । ७२ औं मिनेटमा भुवन बस्नेतले सगरमाथालाई अग्रता दिलाए । डिबक्स नजिकै बाँया भागबाट उनले गरेको प्रहार गोलरक्षक विशाललाई नाघ्दै जाली चुम्यो । ८५ औं मिनेट आभाष लामिछाने गोल गरेपछि उपाधिको दाबेदार मनाङ सेमीफाइनलबाटै बाहिरियो ।
त्यसबाहेक खेलमा दुवै टोलीले पाएका केही सुन्दर अवसर सदुपयोग हुन सकेन् । खेलको तेश्रो मिनेट गोलपोष्ट नजिकैबाट मनाङका कप्तान अञ्जनको प्रहारलाई गोलरक्षक प्रिसोले पञ्च गरेर बचाए । आठौं मिनेटमा अफिजको हेडर बाहिरियो ।
११ औं मिनेटमा आशिष लामा प्रहार मनाङका गोलरक्षकले खेलमैदान बाहिर पठाइदिए । २५ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा अफिजको हेडरले पोष्टको दिशा लिन सकेन् । ५१ औं मिनेटमा अफिजको क्रसलाई डिवक्सभित्र अञ्जनले सदुपयोग गर्न सकेनन् । पेनाल्टी विरुद्ध अफिसियलहरुसंग वादविवाद गरेपछि मनाङका मिडफिल्डर पुजन उपकोटीले पहेलो कार्ड पाए ।

खेलपछि मनाङका प्रशिक्षक राजेन्द्र तामाङले पहिलो हाफमा पोजिसन राखेर स्कोर निकाले पनि दोश्रो हाफमा विपक्षी टोलीले डोमिनेट गर्दा पराजय व्यहोरेको बताए । उनले खेलाडीहरुको तालमेल नमिल्दा पराजित भएको बताए ।
सगरमाथाका प्रशिक्षक युजन गुरुङ खेल जिवनको अविश्मरणीय पल मान्छन् । मनाङ जस्तो टोलीसंगको जित अविश्सनिय रहेको उनले बताए ।
आमी विरुद्ध राम्रो खेल्ने अपेक्षा रहेको उनले बताए । एक जना खेलाडीमा दोहोरो पहेलो कार्ड भएकाले समस्या आएको उनले बताए ।
उपाधिको लागि सगरमाथाले शनिबार त्रिभुवन आर्मीलाई प्रतिद्धन्द्धी पाएको छ । रोलिङ क्लब झापालाई हराउँदै आर्मीले यसअघि फाइनलमा स्थान बनाइसकेको छ ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले स्कुटर र उदयीमान खेलाडीले ४० इन्चको एलइडी टिभी पाउने छ । अन्य विधाका विजेताहरुले नगद १५ हजार प्राप्त गर्नेछन् ।