एजेन्सी । ब्राजिलले कतार विश्वकप लगत्तै राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा पेप ग्वार्डिओलालाई अनुबन्धन गर्न चाहेको छ । ब्राजिली फुटबल संघ म्यानचेस्टर सिटीका प्रशिक्षकले आफ्नो टिम सम्हाल्ने विषयमा विश्वस्त समेत देखिएको छ ।
स्पेनिस आउटलेट मार्काले यस विषयको खुलासा गर्दै कतारी विश्वकप लगत्तै ग्वार्डिओलालाई ब्राजिलले मुख्य प्रशिक्षक बनाउन चाहेको बताएको हो ।
ब्राजिलका वर्तमान प्रशिक्षक टिटो विश्वकप लगत्तै आफुले टिम छाड्ने बताएका थिए ।
‘मैले विश्वकप लगत्तै जिम्मेवारीबाट बाहिरिनेछु ।’ टिटोले भनेका छन्, ‘यसमा कुनै लुकाउने कारण छैन । मलाई त्यसपछि केही जित्नु छैन । मैले मेरो करियरमा सबै जितेको छु । मैले प्राप्त नगरेको त्यही विश्वकपको उपाधि हो ।’
ब्राजिल कतारी विश्वकपको मुख्य दाबेदार मध्यको एक हो । विश्वकपको छनोटमा गरेको उत्कृष्ट प्रर्दशनले ब्राजिललाई प्रतियोगिताको बलियो दाबेदार बनाएको छ ।
ब्राजिलले ग्वार्डिओललाई आफ्नो मुख्य प्रशिक्षकको दाबेदारको रुपमा लिएको छ ।
ब्राजिल स्पेनिस प्रशिक्षकलाई राष्ट्रिय टिमको जिम्मेवारीमा ल्याउन आतुर देखिएको छ । संघले यसका लागि पेप ग्वार्डिओला, पेपका भाई र प्रतिनिधिसँग छलफल समेत अघि बढाईसकेको छ ।
ब्राजिल ग्वार्डिओलालाई सन् २०२६ को विश्वकपसम्म रहने गरि चार वर्षको सम्झौता सहित वार्षिक १२ मिलियन युरो दिन तयार छ । यो राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका लागि राम्रो तलब हो, उनले अहिले २० मिलियन युरो सिटीबाट प्राप्त गरिरहेका छन् ।
ब्राजिल ग्वार्डिओला सहमत हुने विषयमा निकै विश्वस्त देखिन्छ ।
बार्सिलोनाका पूर्व म्यानेजरको सिटीसँगको सम्झौता सन् २०२३ पछि सकिदैछ । उनी यसै समरमा क्लब छाड्छन् वा अर्को समर पर्खन्छन् भन्ने टुङ्गो लाग्न बाँकी छ ।
ग्वार्डिओलाले समेत यसअघि राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्ने विषयमा इच्छा देखाएका थिए ।
‘मलाई सात वर्षपछि ब्रेक लिन पर्छ । मलाई देख्नका लागि रोकिन आवश्यक छ । अन्य खेलाडीसँग सिक्न पर्नेछ । सायद यही बाटो म अपनाउनेछु । म युरो, कोपा अमेरिका, विश्वकपमा प्रशिक्षण गर्न चाहन्छु ।’ उनले भनेका थिए ।
ब्राजिली टिमको विषयमा उनले भनेका थिए, ‘यो उत्कृष्ट राष्ट्रिय टिम हो । ब्राजिल सधै बलियो र सबैको रोजाईको टिम हो । यो सधै र सधै रहिरहनेछ ।’