काठमाडौं । हरेक दुई वर्षमा विश्वकप फुटबल गराउने योजना अघि सार्दा फुटबलको सर्वोच्च निकाय फिफाले आलोचना खेप्दै आएको छ ।
केहि राष्ट्र र समर्थकले यस योजना स्वीकार्य मानेका छैनन् भने कतिपय विश्वकप छनोटको सम्भावना बोकेका राष्ट्र र समर्थकले भने समर्थन गरेका छन् ।
फेरि एकपल्ट फुटबलको सर्वोच्च निकायले प्रतियोगिताको लागि एक जोखिम उठाउन खोजेको छ । उसले हिउँद देखि फुटबलका खेलहरु १०० मिनेट खेलाउने योजना बनाईरहेको छ ।
फुटबल इटालियाको अनुसार फिफाले फुटबल खेलको निर्धारित समयमा १० मिनेट थप गर्न खोजेको छ ।
फुटबल खेल दौरान अपेक्षित रुपमा बल खेलको नियन्त्रणमा नभएको भन्दै समय थपको योजना अघि बढाइएको हो । खेलकुद अध्ययनका अन्तर्राष्ट्रिय केन्द्र (सीआईईएस) को डेटा अनुसार च्याम्पियन्स लिगको खेल ६४ दशमलब ७ प्रतिशत मात्र बल 'प्ले' मा रहने र त्यो प्रतिशत प्रिमियर लिगमा अझ घटेर ६२ प्रतिशतमा रहेको तथ्य छ ।

इंग्ल्यान्डको शीर्ष डिभिजन लिगमा बल 'प्ले' मा रहने प्रतिशत कम छ । त्यस्तै च्याम्पियनसिपमा अझ घटेर ५७ दशमलब २ प्रतिशत मात्र रहेको पाइएको छ ।
फिफाले बल 'प्ले' को प्रतिशतलाई सुधार गर्न १० मिनेटको समय खेलमा थप गर्न लागेको हो ।
फिफाका अध्यक्ष गियान्नी इन्फाटीनो आफैले यस मुद्दा उठाएको समेत बताइएको छ ।
खेलमा १० मिनेटको समय थप गर्न इन्टरनेसनल फुटबल एसोसिएसन बोर्डले स्वीकृति दिनु पर्ने छ । जसले फुटबलको नियमको परिवर्तनमा निर्णय गर्ने गर्छ ।
एक समयमा रग्बीमा जस्तै बल 'प्ले' बाहिर हुँदा समय रोकिनु पर्ने सुझाब समेत अघि बढेको थियो ।
