काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बहुप्रतिक्षित अन्तर्राष्ट्रिय घरेलु सिजन २०२४–२५ को तालिका सार्वजनिक गरेको छ।
यो सिजन सेप्टेम्बरमा बंगलादेशसँगको दुई खेलको टेस्ट शृंखलाबाट भारतले अन्तर्राष्ट्रिय सिजन सुरुआत गर्नेछ। पहिलो टेस्ट सेप्टेम्बर १९ देखि चेन्नईमा र दोस्रो टेस्ट सेप्टेम्बर २७ गते कानपुरमा हुनेछ । त्यसपछि दुई देशबीच तीन खेलको ट्वान्टी–२० शृंखला हुनेछ । यी खेल धर्मशाला, दिल्ली र हैदरावादमा हुनेछन् ।
बंगलादेशको भ्रमण सकिएपछि न्युजिल्यान्डको टोली तीन खेलको टेस्ट शृंखला खेल्न भारत आउनेछ । पहिलो टेस्ट अक्टोबर १६ देखि बैंगलोरमा सुरु हुनेछ। यसपछि पुनेले अक्टोबर २४ देखि दोस्रो र मुम्बईले नोभेम्बर १ देखि तेस्रो टेस्टको आयोजना गर्नेछ।
इङ्ल्यान्ड टोलीले नयाँ वर्षको सुरुमा भारत भ्रमण गर्ने छ । पाँच खेलको ट्वान्टी–२० शृंखला २२ जनवरीबाट चेन्नईमा सुरु हुनेछ। यसपछि दोस्रो ट्वान्टी–२० जनवरी २५ मा कोलकातामा खेलिनेछ। राजकोटमा क्रमशः तेस्रो, चौथो र पाँचौं ट्वान्टी–२० खेल २८ जनवरी, पुनेले ३१ जनवरी र मुम्बईले २ फेब्रुअरीमा खेल्नेछ। तीन खेलको एकदिवसीय शृंखला फेब्रुअरी ६ बाट नागपुरमा सुरु हुनेछ । यसपछि दोस्रो र तेस्रो एकदिवसीय खेल ९ फेब्रुअरीमा कटक र १२ फेब्रुअरीमा अहमदाबादमा हुनेछ ।