काठमाडौं । घरेलु टोली भारतले पहिलो एकदिवसीय क्रिकेटमा हार व्यहोरेको छ ।
लखनउमा बिहीबार वर्षाको कारण ४० ओभरमा झारिएको खेलमा भारतलाई दक्षिण अफ्रीकाले ९ रनले हराएको हो।
जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ ।
दक्षिण अफ्रीकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन मात्र बनाउन सक्यो ।
भारतका लागि अर्धशतकीय इनिङ खेलेका सन्जु सामसनले अविजित रहदै ८६ रन बनाए ।
श्रेयस आयरले ५० रनको अर्धशतकीय इनिङ खेल्दा सार्दुल ठाकुरले ३३ रन बनाए ।
दक्षिण अफ्रीकाका लुंगी एनजीडीले ३ तथा कागिसो राबडाले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि डेभिड मिलरले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ खेल्दा हेन्रिच क्लासेनले अविजित ७४ रन बनाए ।
क्विन्टन डी ककले ४८ रन जोडे । भारतका सार्दुल ठाकुरले २ विकेट लिए ।