काठमाडौं । नाबालिगलाई बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।
कतार एयरवेजबाट दोहा हुँदै नेपाल आईपुगेका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो ।
सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
यस्तै प्रहरीले सन्दीपविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ ।
पक्राउ परेका प्रहरीले आजै सन्दीपको स्वास्थ्य परीक्षण गराउने छ । यस्तै उनलाई प्रहरी वृत्त गौशालामा बुझाईने छ ।
उनलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिनेछ ।
सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
तर, सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै कानुनी लडाई लड्ने बताउँदै आएका छन् ।
उनले आफु निर्दोष रहेको र आफुले छिटो भन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको बताउँदै आएका छन् ।