काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर यसै साता नेपाल आईपुग्ने भएका छन् ।
नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रसान्त विक्रम मल्लले मुख्य प्रशिक्षक प्रभाकर शुक्रबारसम्म नेपाल आईपुग्ने जानकारी दिए । प्रकृया मिलाउन बाकीँ रहेकाले प्रशिक्षक आउन समय लाग्ने मल्लले बताए ।
मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । प्रभाकरसँग एक वर्षे सम्झौता भएको मल्लले बताए ।
'नयाँ जिम्मेवारीका साथ प्रभाकर नेपाल आउदै हुनुहुन्छ,' मल्लले खेलपाटीलाई बताए, 'नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ ।'
नेपाली टोली यहि महिनाको तेस्रो सातामा केन्या भ्रमणका लागि निस्कदै छ ।
केन्यामा रहँदा नेपालले ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । केन्याको राष्ट्रिय टिमसँग नेपालको ३ खेलको ५० ओभरको अभ्यास सिरिज पनि रहेको छ ।
'केन्या भ्रमणका बारेमा तथा सहभागी खेलाडीको जानकारी आज आउने छ' मल्लले भने ।
भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।
उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् । उनले रणजी ट्रफी टिम दिल्लीसँगै राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्।