काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले आफ्नो आधिकारीक लोगो सार्वजनिक गरेको छ ।
राजधानीमा बिहीबार कार्यक्रमको आयोजना गर्दै विराटनगर र जनकपुरले लोगो सार्वजनिक गरेका हुन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुन लागेको नेपाल टी-ट्वान्टी लिगमा दुवै टोलीले सहभागीता जनाउदै छन् ।
लिगमा विराटनगर र जनकपुर सहित ६ टोलीले सहभागीता जनाउदै छन् । लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ।
कार्यक्रममा बोल्दै क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले लिग आयोजना गर्न पाउँदा संघ खुसी रहेको बताएका छन् ।
'नेपाली क्रिकेटको दायरा फराकिलो बन्दै गएको छ । यस लिगको सुरुवातका केही वर्ष कठिन भएपनि भविष्य राम्रो रहेको छ,' उनले भने, 'तपाईहरुले ईण्डियन प्रिमियर लिग(आईपीएल) को सुरुवाती समय र आजको सफलता हेर्नु नेपाल टी-ट्वान्टी लिग पनि सोही मार्गमा रहेको छ ।'
क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।
यस्तै प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिईसकेको छ।