काठमाडौं। अपन राधेमाई युथ क्लब यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा आइतबार फाइनलमा प्रवेश गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्यो ।
सुरुमा ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १२९ रन खडा ग¥यो । राधेमाईका सागिर मियाले ३०, सजित अख्तर हवारीले २८ र सफ्वान अलीले १९ रन बनाए ।
जवाफमा घोडाघोडी १२.४ ओभरमा पूरै विकेट गुमाउदै मात्र ३९ रनमा खुम्चियो । बलिङतर्फ राधेमाईका ‘म्यान अफ द म्याच’ अनिश साह कानुले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । राधेमाईकै वसिम अली मन्सुरी र रोहन यादवले २–२ ब्याट्सम्यानलाई पभेलियन फर्काए ।
उपाधिका लागि राधेमाईले ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुर र आयोजक नेक्सस क्रिकेट एकेडेमीबीचको विजेतासंग खेल्ने छ । जिएचसीए र नेक्ससबीचको सेमिफाइनल आइतबारै हुनु पर्नेमा वर्षाका कारण मैदान भिजेपछि सम्भव भएन । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रतियोगिताको अर्को सेमिफाइनल सोमबार हुने छ ।