काठमाडौं । बागमती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकाल्दै वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना कायम राखेको छ ।
मुलपानी क्रिकेट मैदानमा कर्णालीले दिएको ७९ रनको लक्ष्य बागमतीले १९ दशमलब ५ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।
यससँगै बागमतीले पाँच खेलमा दोस्रो जित दर्ता गरेको छ र फाइनलको सम्भावना कायमै राखेको छ ।
यता पाँचमध्ये चार खेलमा पराजय भोगेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बागमतीलाई जित दिलाउन विवेक मगरले सर्वाधिक १८ रन जोडे ।
क्रिस कार्कीले १२ तथा उत्तम मगरले ११ रनको योगदान गरे ।
कर्णालीका अनुज चानाराले सर्वाधिक ५ विकेट हात पारेपनि त्यो जितका लागि पर्याप्त भएन ।
प्रकाश जैसी, सुवास ऐयर र युनिस सिंहले समान एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २७ दशमलब १ ओभरमा अलआउट हुदै केवल ७८ रन बनाउन सक्यो ।
कर्णालीका लागि कप्तान निश्चल रावलले सर्वाधिक १५ रन जोडे ।
सन्दीप शाही १४, विपिन रावल १२ र रुपक दाहाल १० रनमा आउट भए ।
बागमतीका गौतम केसीले सर्वाधिक ४ विकेट हात पारे ।
विशाल यादवले ३, क्रिस कार्कीले २ र विपुल खनालले १ विकेट लिए ।