काठमाडौं । गण्डकी प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो जित दर्ता गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा प्रदेश नं. २ लाई ५५ रनले पराजित गर्दै गण्डकीले चार खेलमा दोस्रो जित दर्ता गरेको हो ।
यता प्रदेश २ को चार खेलमा दोस्रो पराजय हो ।
सोमबारको खेलमा १ सय ५७ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २२ दशमलब ५ ओभरमा अल आउट हुदै जम्मा १ सय १ रन जोड्न सक्यो ।
प्रदेश २ का लागि तृत राज दासले सर्वाधिक ३१ रन जोड्दा रोहन विक २३ रनमा आउट भए ।
प्रदेश २ लाई सस्तैमा समेट्न गण्डकीका कमल परियारले सर्वाधिक ५ विकेट हात पारे ।
सुवास भण्डारीले ३ तथा किरन पौडेलले २ विकेट चट्काए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको गण्डकी प्रदेश ४३ दशमलब ४ ओभरमा अलआउट हुदै १ सय ५६ रनमा सिमित भयो ।
गण्डकीका लागि ओपनर अर्जून कुमालले सर्वाधिक ४७ रनको योगदान गरे ।
सन्देश सुनारले २६ रन जोड्दा सचिनराज अधिकारी र कमल परियारले समान १४–१४ रन जोडे ।
प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ५ विकेट हात पारे । विवेकले ९ ओभर बलिङ गर्दा केवल २० रन खर्चिए । उनले दुई मेडन ओभर फालेका थिए ।
गुल्सन झाले ३ विकेट तथा अजय यादव र प्रदिप पासवानले एक–एक विकेट लिए ।