एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय आज (बुधबार) हुँदैछ ।
म्यानचेस्टरमा हुने अन्तिम एकदिवसीय नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।
ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । किनकि यस खेल निर्णायक हो ।
अघिल्ला दुई खेलमा दुबै टिमले एक एक पटक जित निकालेका छन् ।
पहिलो खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो । तर, दोस्रो खेलमा इंग्ल्यान्डले २४ रनको जित निकालेको थियो ।
जसको कारण तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । अन्तिम खेल जित्नेले सिरिज आफ्नो बनाउने छन् ।
यस्तोमा दुबै टिम सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
विश्व विजेता इंग्ल्यान्डले सन् २०१५ पछि घरेलु मैदानमा एकदिवसीय सिरिज गुमाएको छैन ।
इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज समेत २-१ ले जितिसकेको छ ।
त्यसैले इंग्ल्यान्ड उच्च आत्मबलका साथ मैदान उत्रने छन् ।
यता, अष्ट्रेलिया बलियो टिमविरुद्ध सम्हालिएर खेल्नेछ । किनकि टी-ट्वान्टी सिरिज गुमाएको अष्ट्रेलिया एकदिवसीय सिरिज आफ्नो बनाउने योजनामा रहेको छ ।