एजेन्सी । एक साता अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट खेल दौरान बल चम्काउन थुकको प्रयोग गर्न नपाउने नियम बनाएको थियो ।
तर, विश्वभरका बलर तथा खेलाडीहरुले बल चम्काउने तरिका बदल्न निकै कठिन हुने बताउँदै आएका छन् ।
अष्ट्रेलियाका पूर्व फास्ट बलर ब्रेट लीले समेत आईसीसीको यो नियम लागु गर्न निकै कठिन रहेको बताएका थिए ।
यस्तै इंग्ल्याण्डका फास्ट बलर क्रिस ओक्सले क्रिकेट सुरु भएपछि बल कसरी चम्काउन सकिन्छ भनेर उपाए खोज्ने बेला भएको बताए ।
उनले थुक र पसिना बिना समेत बल चम्काउन सकिने तर खेलाडीको लागि यो निकै गार्हो हुने बताए ।
'अघि बढ्दै गर्दा आफूले आफूलाई सम्झाइरहनु कि अब त्यो शैलीले बल चम्काउन पाउने छैनौं,' ओक्सले भने, 'मलाई गलत नसम्झनु, हामीले थुक र पसिना बिना समेत बल चम्काउन सक्छौं तर सायद बलमा त्यसको प्रभाव एकै हुँदैन । त्यसको लागि बलरले बललाई ट्राउजरमा धेरै समय रगड्नु पर्छ ।'
यद्दपी खेलाडीहरुले बल चम्काउन नयाँ उपाय निकाल्नेमा ओक्स विश्वस्त छन् ।
'हामीले बल चम्काउन उपाय निकाल्छौँ । तर त्यसको लागि केही समय लाग्न सक्छ,' उनले थपे ।
गत साता आईसीसीले कोरोना पछिको क्रिकेट गाइडलाइन सार्वजनिक गर्दै बल चम्काउन खेलाडीले थुकको प्रयोग गर्न नपाउने जनाएको थियो ।