एजेन्सी । पाकिस्तानविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज अष्ट्रेलियाले जितेको छ ।
पर्थमा शुक्रबार भएको अन्तिम तथा तेस्रो खेलमा १० विकेटको जित निकाल्दै अष्ट्रेलियाले सिरिज २-० ले आफ्नो बनाएको हो ।
पाकिस्तानले दिएको १ सय ७ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ११ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डेभिड वार्नरले अविजित ४८ रन बनाए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।
उसका इफ्तिकार अहमदले ४५ रन बनाए । यस्तै इमाम उल हकले १४ रन जोडे ।
अष्ट्रेलियाका केन रिचार्ड्सनले ३ विकेट लिए । यस्तै मिचेल स्टार्क र सिन अब्बोटले २/२ विकेट लिए ।
यसअघि पहिलो खेल वर्षका कारण नतिजा विहिन सकिएको थियो । दोस्रो खेलमा भने अष्ट्रेलियाले ७ विकेटको जित निकालेको थियो ।