काठमाडौं । बक्सिङका पुर्व खेलाडी तथा नेपाली खेलकुदमा सहयोग गर्दै आएका सिद्वार्थ बिक्रम भण्डारी सम्मानित भएका छन् ।
बक्सिङ परिवारले सोमबार एक कार्यक्रमको आयोजना गरेर सिद्वार्थलाई सम्मान गरेको हो ।
बक्सिङका पुर्व खेलाडी सिद्वार्थ हाल बेलायतमा बस्दै आएका छन् । आर्थिक अभावमा परेका खेलाडी र प्रशिक्षकलाई उनले सहयोग गर्दै आएका छन् ।
लण्डनमा रहेर खेलकुदलाई निरन्तर सहयोग गर्दै आएका सिद्वार्थलाई नेपाल आएको समय बक्सिङ परिवारले सम्मान गरेको हो ।
उनले केही हप्ता अघि मात्र अन्तराष्ट्रिय फुटबलमा नेपालका लागि पहिलो गोल गरेका वाईवी घलेलाई आर्थिक सहयोग गरेका थिए ।
सम्मान ग्रहण गर्दै सिद्वार्थले सम्मानका लागि आफुले कहिल्यै सहयोग गर्ने काम नगरेको बताए । आगामी दिनमा खेलाडी र प्रशिक्षकलाई अझ बढी सहयोग गर्ने ईच्छा रहेको उनले सुनाए ।
उनले नेपालका उदयमान बक्सिङका खेलाडीलाई बेलायतमा ३ देखि ६ महिनाको विशेष प्रशिक्षणको व्यवस्था गर्न लागेको जानकारी गराएका थिए ।
सिद्वार्थलाई सम्मान गर्ने कार्यक्रमको चाँजोपाजो बक्सिङ संघका पुर्व अध्यक्ष राजिव श्रेष्ठले मिलाएका थिए । पुर्व अध्यक्ष श्रेष्ठले पुर्व खेलाडीको हिसाव सिद्वार्थले गरेको सहयोगको प्रशंसा गर्दै परोपकारी काममा अझ अघि बढ्न शुभकामना दिए ।
अक्षयकोष स्थापनाको घोषणा
बक्सिङ परिवारले खेलाडी र प्रशिक्षकलाई आर्थिक सहायता उपलब्ध गराउने उद्वेश्यले अक्षयकोषको स्थापना गर्ने भएको छ ।
पुर्व अध्यक्ष राजिव श्रेष्ठले एक लाख रुपैयाँ राख्ने घोषणा गर्दै अक्षयकोष स्थापनालाई अघि बढाउने बताए ।
कार्यक्रममै सम्मानित भएका सिद्वार्थले समेत अक्षयकोषलाई एक लाख रुपैयाँ दिने घोषणा गरे ।
संघ पुर्व अध्यक्ष श्रेष्ठले तत्काल बक्सिङको समेत अक्षयकोष स्थापना गरिने र समिति गठन गरेर अक्षयकोष सञ्चालनका लागि कार्यविधि तयार गर्ने योजना रहेको सुनाएका थिए ।