नेपालगंज । त्रिभुवन आर्मी क्लबका भलिबल खेलाडी मान बहादुर श्रेष्ठले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नपाउने भएका छन् ।
क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिताको लागि जापान गएपछि आर्मीले कप्तान मान बहादुरलाई आठौं खेलकुदमा सहभागी नगराउने भएको हो ।
आर्मीले आठौं राष्ट्रिय खेलकुदका लागि गराएको खेलाडी दर्तामा मान बहादुरको नाम समावेश गरेको छैन ।
आर्मीका मुख्य प्रशिक्षक कपिल किशोर श्रेष्ठले महत्वपूर्ण खेल अघि मान बहादुर बाहिर गएको कारण विभागले उनलाई टिममा नराखेको बताए ।
'क्लबले महत्वपूर्ण खेल अघि उनलाई स्वीकृति दिएको थिएन् । उ आफै गयो । महत्वपूर्ण प्रतियोगिताको अगाडी उसको स्थानमा अन्य खेलाडी राख्नु पर्यो । उ आठौंमा हामीसंग हुँदैन,' प्रशिक्षक श्रेष्ठले भने ।
प्रशिक्षक श्रेष्ठले क्लबमा अनुमतिका लागि पत्र आएको भएपनि ठुला प्रतियोगिता अघि उनलाई विभागले जापानको लागि स्वीकृति नदिएको बताए । यस्तै प्रशिक्षक श्रेष्ठले मान बहादुरबारे अन्य निर्णय विभागले गर्ने बताए ।
नेपाली राष्ट्रिय टोलीका ओपन स्पाईकर समेत रहेका मान बहादुर पाँचौ सिल्भर रनिङ कप भलिबल खेल्न गत सोमबार जापान गएका थिए । मान बहादुर शुक्रबार नेपाल फर्किसकेका छन् ।
गल्कोट स्पोर्ट्स क्लब टोकियोको आयोजनामा भएको प्रतियोगिता बुधबार सकिएको थियो । एकदिने प्रतियोगितामा मान बहादुरले म्याग्दी प्रवासी नेपाली संघ मोना जापानबाट खेलेका थिए ।
मान बहादुरले आफुले गत बर्ष नै जापान आउने बचन दिएको कारण आफु त्यहाँ गएको बताए । उनले आफुले क्लबबाट स्वीकृति नलिएको स्वीकार गरे ।
'गत बर्ष नै मैले बचन दिएको थियो । आठौंको लिग चरणको खेल जारी रहदा आईपुग्ने गरि क्लबमा स्वीकृति माग्दा स्वीकृत भएन । त्यसैले स्वीकृत बिना गएको हो,' मान बहादुरले भने ।
यस्तै उनले आफु शुक्रबार नेपाल आइपुगेको र क्लबलाई आफु नेपाल आएको जानकारी गराएको बताए । उनले क्लबले बोलाए आफु आठौंको लागि नेपालगंज जान तयार भएको समेत बताए ।
नेपालगंजको खजुरामा जारी आठौंको भलिबलका लागि आर्मीले दुई खेल जितिसकेको छ ।