नेपालगंज । प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलमा एपीएफ क्लब र प्रदेश ३ ले बिजयी सुरुवात गरेका छन् ।
खजुरामा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश १ लाई ३-० को सोझो सेटमा पराजित गर्यो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको एपीएफले प्रदेश १ लाई २५-४,२५-९ र २५-१० को सेटमा पाखा लगायो ।
यस्तै प्रदेश ३ ले प्रदेश २ लाई ३-० कै सेटमा हरायो । प्रदेश ३ ले प्रदेश २ माथि २५-९,२५-७ र २५-१३ को सेटमा हरायो ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकाल्यो । आर्मीले गण्डकी प्रदेशलाई ३-१ को सेटमा पाखा लगायो ।
पहिलो सेट २५-२२ ले गुमाएपनि आर्मीले त्यसपछिको सेट २५-१८,२५-२१ र २५-१४ को सेटमा जित निकाल्यो ।
पुरुष भलिबलतर्फ नै दोस्रो जित निकाल्ने क्रममा एपीएफले प्रदेश नं. ५ लाई ३–० को सोझो सेटमा हरायो । एपीएफले प्रदेश नं. ५ लाई २५-८, २५-२१ र २५-२१ को सेटमा हरायो ।