काठमाडौं । नेपाल भलिबल संघले दर्ता नगरी संचालन भईरहेको क्लबलाई कानुनी दायरामा ल्याउन पहल सुरु गरेकाे छ ।
नेपालका अधिकांश भलिबल क्लब दर्ता नगरी संचालन भईरहेको देखिएपछि संघले क्लबलाई कानुनी दायरामा ल्याउन गृहकार्य अघि बढाएकाे हो ।
क्लबलाई कानुनी दायरामा ल्याउने बिषयमा संघले बुधबार क्लबहरुसँग छलफल समेत गरेको छ । संघका उपाध्यक्ष निरोज मास्केको नेतृत्वमा भएको छलफलमा १० क्लबको सहभागिता रहेको थियो ।
बैठकमा दर्ता नभएका क्लबहरुले आगामी माघ भित्र क्लब दर्ता गर्ने बाचा गरेका थिए ।
छलफलमा संघको तर्फबाट उपाध्यक्ष मास्केले कानुनी रुपमा क्लबलाई दर्ता हुन आग्रह गर्दै ब्यवसायीक रुपमा क्लबहरु अघि बढ्नुपर्ने धारणा राखेकी थिईन् ।
उनले गतिविधि सञ्चालनका लागि क्लबहरु वैधानिक हुन अवश्यक रहेको भन्दै यसले क्लबको ब्यवसायीकरणमा फाईदा पुग्ने उल्लेख गरिन् ।
नेपाल भलिबल संघले उपत्यकामा अवैधानिक रुपमा सञ्चालनमा रहेका भलिबल क्लबलाई कानुनी दायरामा ल्याउन पहल थालेको थियो । सोही अनुसार संघको कार्यसमिति बैठकले उपाध्यक्ष मास्केको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
समितिमा मास्के सहित ऐनबहादुर शाही, मनवीर छत्याल, जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी सदस्य रहेका छन् ।
समितिले चाँडै भक्तपुर र ललितपुरका क्लबसंग समेत छलफल गर्ने बताएको छ ।
उपाध्यक्ष मास्केले भलिबलका क्लबलाई थप ब्यवसायीक र प्रचलित कानुनको दायरमा ल्याउन संघले पहल सुरु गरेको बताईन् ।
‘तत्काल क्लबलाई कानुनी दायरामा ल्याएर ब्यवसायीक रुपमा अघि बढ्ने आधार तयार गर्ने हो । क्लबहरु वैधानिक र संघको मातहत आएपछि भलिबल विकासमा थप सहकार्य गर्ने वातावरण बन्छ ।’ उनले खेलपाटीसंग भनिन् ।