काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण नेपाल सरकारले गत वर्षको चैतबाट लकडाउन लगाएको थियो ।
लकडाउनसँगै खेलकुद गतिविधि पनि ठप्प भयो । जसमा नेपालको राष्ट्रिय खेल भलिबल अछुतो रहेन ।
सरकारले लगाएको लकडाउन साउनबाट खुलिसकेको छ । तर, नेपाल भलिबल संघले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्न सकेको छ ।
क्रिकेट, फुटबल लगायतका खेलहरुले प्रशिक्षण सुरु गरिसक्दा भलिबलले प्रशिक्षणको तयारी गर्न सकेको छैन ।
सरकारले राष्ट्रिय खेल घोषणा गरेपछि हौसिएका खेलाडीहरु लामो समय भलिबल कोर्ट बाहिर रहदा निराश देखिन थालेका छन् ।
खेलाडीहरु प्रशिक्षणको दिन कुरेर बसेका छन् । तर, संघले तत्काल प्रशिक्षण थाल्ने योजना बनाएको छैन ।
भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले खेलाडीको स्वास्थ्य जिम्मेवारी लिन सक्ने अवस्था नभएकोले प्रशिक्षण सुरु गर्न नसकिएको बताउछन् ।
‘कोभिडले हामी सबैलाई दुख दिइरहेको छ । यस्तो अवस्थामा कति प्रतिशत खतरा मोल्ने ? त्यसको जवाफदेहिता र जिम्मेवारी कस्ले लिने भन्ने कुरा गहन रुपले हेर्नुपर्छ,’ अध्यक्ष शर्माले भने, ‘खेलाडीलाई कोरोना भएमा उपचार कस्ले गर्ने र पैसा कहाँबाट ल्याउने र केहि दुर्घटना भएका त्यसको जवाफदेहिता कस्ले लिने ? त्यसैले मैले माघ महिनासम्मको लागि रोकेको हुन् ।’
अध्यक्ष शर्माले सरकार, राष्ट्रिय खेलकुद परिषदले जिम्मेवारी लिएका संघले तत्काल प्रशिक्षण थाल्ने समेत बताए । प्रशिक्षणको रहरले पछि पछुतो नहोस भनेर संघ अघि बढ्न नसकेको समेत उनले बताए ।
‘खेलाडीले खेल्न नपाएको धेरै भईसक्यो । प्रशिक्षणका लागि आतुर छन् । हामीलाई पनि सकेसम्म चाडै प्रशिक्षणमा फर्काउ भन्ने छ । परिषदसँग परामर्श भइरहेको छ । पीसीआर परिक्षण गर्न र खेलाडीको जवाफदेहिता लिन परिषद र सरकार अघि बढेका हामी तयारी गराउन सक्छौ,’ अध्यक्ष शर्मा भन्छन् ।
यस्तै भलिबल संघले माघको बोर्ड बैठकबाट प्रशिक्षणबारे निर्णय गर्ने तयारी समेत गरेको छ ।
संघका कोषाध्यक्ष सुनकेशरी मालीले संघको कमजोर आर्थिक अवस्था र प्रशिक्षण गर्ने ठाउको अभावको कारण तत्काल प्रशिक्षण थाल्न नसकिएको बताईन् ।
‘सबै प्रतियोगिताहरु २०२१ मा हुने तय भएको छ । त्यसको लागि प्रशिक्षण ३–४ महिना अगाडि गर्दा भईहाल्छ । लामो समय प्रशिक्षण गर्दा त राम्रै हो तर प्रशिक्षण गर्ने ठाउँको अभाव छ,’ मालीले भनिन्, ‘संघको खातामा पैसा नै हुँदैन किनकि भलिबल गर्ने आयोजक हो नाफा लिने, पैसा बचाएर राख्ने भन्ने हुँदैन । निकै चुनौती छ ।’