काठमाडौं । राष्ट्रिय भलिबल टिमका वरिष्ठ भलिबल प्रशिक्षक सुदेश रिमालको निधन भएको छ ।
'ब्रेन ट्युमार'का कारण काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराईरहेका प्रशिक्षक रिमालको शुक्रबार निधन भएको हो ।
पछिल्लो ५ दिनयता उनी न्युरो अस्पतालमा भर्ना भएर उपचार गराईरहेका थिए । केही दिनयता उनलाई विशेष आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो ।
रिमाल राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)का निर्देशक समेत हुन् ।
रिमालको निधनको अस्पतालबाट औपचारिक पुष्टि हुन बाँकी छ । तर राखेपले रिमालको निधनको पुष्टि गर्दै शनिबार बिहान श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
राखेपले बिहान साढे ९ बजे राखेप परिसरमा रिमालको श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको हो ।
राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षकको रुपमा लामो समय काम गरेका रिमालले विभागीय टिममा समेत आबद्ध भएर प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय महिला भलिबल टिमले दक्षिण एसियाली खेलकुदमा प्राप्त गरेको सफलता रिमालनै नेतृत्वमा सम्भव भएको थियो ।
उनले पुरुष र महिला दुवैको राष्ट्रिय टिमको प्रशिक्षक भएर काम गरिसकेका छन् । यस्तै, उनले आर्मी र पुलिस सहितका विभागीय टिममा रहेर समेत घरेलु खेलकुदमा आफुलाई स्थापित गरेका थिए ।