काठमाडौं । कखरा पब्लिकेशनद्धारा सञ्चालित खेलपाटी डटकम चौथो वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुदको डिजिटल खेल पत्रिकाले आफ्नो गौरवमय तीन वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको हो । खेलपाटी छोटो समयमा नेपाली खेलकुद क्षेत्रको लोकप्रिय सञ्चार संस्थाको रुपमा स्थापित हुन सक्यो । संस्थामा आबद्ध साथीहरुको मेहेनत र प्रतिबद्धताबाट हामीले आजसम्मको यात्रा तय गर्न सकेका हौं । साथै यस यात्रामा हाम्रा पाठक, दर्शक, श्रोता र सूचना स्रोत र विज्ञापन दाताप्रति हामी आभारी छौं ।
नेपाली खेल क्षेत्रलाई व्यवसायिक र सुशासनको मार्गमा हिडाउने जिम्मेवारीप्रति हामी सधै दृढ छौं । विगत तीन वर्षको अनुभव र अभ्यासले खेल पत्रकारितामा थप परिपक्क र गम्भिर बनेको महसुस हामीले गरेका छौं । भनिन्छ, पत्रकारिता एउटा आन्दोलन हो । समकालिन खेलकुद क्षेत्रको यस आन्दोलनको एउटा मोर्चामा हामी उभिएका छौं । खेलकुदको व्यवसायीकरण, खेलाडीको हक अधिकार र सम्मान अनि समग्र खेलकुद विकाससंगै बेतिथीविरुद्धको हाम्रो अभियान सधै जारी रहनेछ ।
विश्व कोभिड–१९ को महामारीबाट आक्रान्त छ । नेपाल समेत यसबाट अछुतो छैन । खेलकुद क्षेत्र थप धरासायी अवस्थामा छ । खेल पत्रकारिता थप कठिन बनेको छ । अझ देशको राजनीतिक अस्थिरताबाट खेलकुद प्रताडित छ । खेलकुद बेथितिको क्षेत्र बनेको छ । व्यक्तिगत स्वार्थ प्रेरित राजनीतिकरणले खेलकुद क्षेत्रका समस्यालाई थप जटिल बनाईदिएको छ ।
यस अवस्थामा जिम्मेवार पत्रकारिताको आवश्यकता थप बोध भएको छ । छोटो समयको अवधिमा आम पाठक, स्रोता र दर्शकले गरेको विश्वास र सद्भावलाई सम्मान गर्दै आगामी वर्ष खेलपाटीलाई थप परिस्कृत र जिम्मेवार बनाउने प्रतिबद्धता हामी व्यक्त गर्न चाहन्छौं । धन्यवाद ।