काठमाडौं । खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले स्थापनाको २५ वर्ष पुरा गरेको छ ।
खेलकुद पत्रकारिताको संस्थागत र व्यवसायीक विकासका लागि खेलकुद पत्रकारहरुले स्थापना गरेको मञ्चले २५ वर्ष पार गरेको हो ।
खेलुकद पत्रकार मञ्च खेलकुदलाई मुख्य विधा बनाएर पत्रकारिता गर्ने पत्रकारहरुको साझा संस्था हो । राजधानीमा रहेर मुलधारका सञ्चारमाध्यममा काम गर्ने खेलकुद पत्रकार सक्रिय रुपमा मञ्चका केन्द्रिय छाताभित्र आबद्ध छन् । मञ्चले देशका विभिन्न क्षेत्रमा आफ्नो जिल्ला शाखा समेत विस्तार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको मिति भदौ २७ गतेलाई मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा मनाउँदै आएको छ ।
स्थापना अवसरका दिन मञ्चले हरेक बर्ष औपचारिक कार्यक्रमको आयोजना गरेर एक जना अनुवभी पत्रकारको सम्मान र युवा खेल पत्रकारलाई प्रोत्साहन स्वरुप (सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार)बाट सम्मानित गर्दै आएको थियो । तर कोरोनाको महामारीका कारण यस बर्ष औपचारिक कार्यक्रमका साथै सम्मान कार्यक्रम हुन सकेन ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र)ले स्थापना दिवसका अवसरमा शनिबार प्रेस बिज्ञप्ती जारी गर्दै कोभिड–१९ को महामारीले विश्व संगै नेपाली खेलकुद समेत त्यसको चपेटमा परेको बताएका छन् ।
उनले कोरोना महामारीका कारण मञ्चका कार्यक्रम र योजनामा नराम्रो धक्का लागेको भन्दै परिस्थिती अनुकुल भएपछि स्थगित रहेका कार्यक्रमलाई अघि बढाउने जानकारी दिएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष नेपाली खेलकुद क्षेत्रकै ठुलो अवार्ड कार्यक्रम स्पोर्ट्स अवार्ड सञ्चालन गर्दै आएको छ । कोरोनाका कारण यस बर्षको अवार्ड कार्यक्रम समेत अनिश्चित छ ।
तर मञ्चका अध्यक्ष सुबेदीले प्रेस बिज्ञप्तीमार्फत आफुहरु अवार्ड कार्यक्रमको तयारीमा जुटिसकेको बताए । उनले बदलिदो परिस्थितीका कारण यस बर्षको अवार्ड भर्चुअल हुने जानकारी दिदै अवार्डको निरन्तरताका लागि तत्कालिन चुनौती स्विकार गरिने उल्लेख गरे ।
अध्यक्ष सुबेदीले परिस्थितीलाई मुल्याङकन गरेर स्पोर्ट्स अवार्डका मिति चाँडै सार्वजनीक गरिने जानकारी दिएका छन् ।