काठमाडौं । सिएम कृष्ण थापा अफिसियल अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
बिहिबार मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपको उपाधि जित्दै कृष्ण अन्तराष्ट्रिय चेसको उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने ।
नौ चरणको खेलमा ८ अंक जोड्ने क्रममा कृष्णले अन्तिम चरणमा नेपालकै रिजेन्द्र राज भण्डारीलाई हराए । पराजित रिजेन्द्र ६.५ अंक सहित पाँचौ भए ।
प्रतियोगितामा नेपाली खेलाडीले शीर्ष पाचँ स्थान पाए । अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकास नेपाल ७.५ अंक सहित दोस्रो ,भारतका शुभम शुक्लालाई हराएका पुरुषोत्तम चौलागाइ ७ अंक सहित तेस्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन मर्हजन ७ अंक सहित चौथो भए ।
अन्तिम चरणमा पराजित ग्रोभर छैटौं भए । यसैगरी, सुमित पन्त सातौ, आशिष फुयाँल आठौ तथा सुरविर लामा नवौ तथा शुभम शुक्ला दशौ भए ।
महिलातर्फ भारतकी सन्ध्या जी पहिलो भइन् । चीनकी सुन फुरुङ दोस्रो, नेपालकी सुजना लोहनी तेस्रो तथा जापानकी कोजीमा नात्सुमी चौंथो तथा नेपालकै शुसीला गुरुङ पाँचौ भए ।
नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागि थिए ।
उपाधि सँगै थापाले १ हजार ५ सय डलर प्राप्त गरे । उपविजेताले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाए ।
यस्तै चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गरे । आठौ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।
महिलातर्फको विजेताले ७ सय, उपविजेताले ५ सय, तथा तेस्रो देखि पाचौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाए ।