पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा बागमती प्रदेशलाई ८-० गोल अन्तरले हराएर आर्मीले लगातार दोस्रो जित निकालेको हो ।
खेलको पहिलो क्वाटरमा आर्मीको तर्फबाट सुनिता नेगिले गोल गर्न सफल भएकी थिइन् । खेलको पहिलो मिनेटमै सुनिताले गोल गरेकी थिइन् । त्यस्तै खेलको १४ औं मिनेटमा आर्मीकै तर्फबाट सितामाया बलले गोल गरेकी थिइन् । खेलको दोस्रो क्वाटरमा आर्मीले लगातार तीन गोल गर्न सफल भएको थियो ।
खेलको २७ औं मिनेटमा सरस्वती तामाङ, २८ औं मिनेटमा सिता कुमारी चौधरी र २९ औं मिनेटमा डम्बरा भट्टले गोल गरेका थिए । त्यस्तै खेलको तेस्रो क्वाटरमा सुनिताले आर्मीको लागि एक गोल गर्न सफल भएकी थिइन् । ४० औं मिनेटमा सुनिताले गोल गर्दै आर्मीको लागि अंक बढाएकी छिन् ।
यस्तै अन्तिम क्वाटरमा आर्मीले दुई गोल गर्दै ८-० को गोल अन्तरले विजय भयो । ४८ औं मिनेटमा सरस्वती तामाङ र ५४ औं मिनेटमा कमला चन्दले एक-एक गोल गरेका थिए ।
महिला हक्कीको दोस्रो खेलमा सुदुरपश्चिम र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।