काठमाडौं । आङ छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको पहिलो दिन सुरज श्रेष्ठले अग्रता लिएका छन् ।
गोकर्ण फरेस्ट रिर्साटमा शुक्रबार ११ ह्याण्डी क्यापमा ३९ अंक जोडेर शीर्ष स्थानमा रहेका हुन् । उनका प्रतिद्वन्द्वी दावा जे शेर्पा ३८ अंकका साथ दोस्रो स्थानमा रहेका छन् ।
बेस्ट ग्रसतर्फ सुरेन्द्र फुयाँल ३३ ग्रस अंक जोडेर अग्रस्थानमा छन् । त्यसैगरी मिथुन राई ३२ ग्रस अंक जोड्दै ग्रस तर्फ दोस्रो स्थानमा रहेका छन् । सिनियर्स तर्फ दिलिपजङ्ग रायमाझी ३१ अंकका साथ अगाडि छन् भने जुनियर्स तर्फ सायान बस्नेतले ४४ अंकका साथ अग्रता कायम गरेका छन् ।
समीर आर्चाय लङ्गेस्ट ड्राइभ तर्फ अगाडि रहेका छन्, त्यसैगरी सुरेन्द्र फुयाँल क्लोजेस्ट टु द पिन तर्फ अग्रस्थानमा छन् । दावा जे शेर्पा ४ बर्डी र १ इगल प्रहार गर्दै मोस्ट बर्डी विधामा अगाडि रहेका छन् ।
स्वर्गीय आङ्ग छिरिङ शेर्पाको फेवरेट होल गोकर्ण रिसोर्टको १३ नम्बर होलमा श्याम तामाङले उत्कृष्ट शर्ट प्रहार गर्दै विशेष पुरस्कार तर्फ अग्रता कायम गरे । यस गल्फ प्रतियोगिता स्टेबलफोर्ड फरम्याट ३÷४ ह्याण्डीक्यापमा खेलाइएको छ ।
यती एअरलाइन्स, तारा एअर र गोकर्ण फरेस्ट रिसोर्टले संयुक्त रुपमा आयोजना प्रतियोगिताको उद्घाटन यती एअरलाइन्सकी प्रवन्ध निर्देशक तथा स्व. आङ छिरिङ शेर्पाकी श्रीमती चन्दा शेर्पाले गरिन् ।
प्रतियोगितामा आजका लागि ७६ जना खेलाडी सहभागी थिए भने शनिबार ८२ जना सहभागी हुने यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।