पोखरा । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनल खेलमा अहिले संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएको छ ।
निर्धारित समय बराबरीमा सकिएसँगै खेल अतिरिक्त समयमा गएको छ ।
खेलको १० औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुटलाई १-० को अग्रता दिलाएका हुन्।
खेलको ५१ औं मिनेटमा ग्लोरीले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए । गोलकिपर राजाबाबुको लामो पासमा उनले गोल गरेका हुन् ।
आज दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।
संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । पटक पटक प्रतियोगितामा सहभागिता जनाएपनि संकटा पहिलो पटक फाइनल पुगेको हो ।
अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो । अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।