काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई जितका लागि १ सय ४३ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनायो ।
एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७ रनको योगदान गरिन् । कप्तान सिता राना मगरले २८ रन जोड्दा राजमती ऐरीले २३ रन बनाईन ।
लुम्बिनीका स्वतिका बजगाई र कृतिका मरासिनीले २/२ विकेट लिईन ।
आज एपीएफ जित निकाल्दै अपराजित रहेर फाइनल पुग्ने लक्ष्यमा रहेको छ । अघिल्ला तीन ३ खेलमा शतप्रतिशत जित निकालेको एपीएफ ६ अंक जोडेर फाइनल पुगिसकेको छ ।
लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनीले ३ खेलमा अंक जोड्न सकेको छैन ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।