काठमाडौं । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ ।
पहिलो हाफमा नेपाल र बंगलादेशले केहि अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
घरेलु टिमविरुद्ध नेपाल निकै आक्रामक खेलिरहेको छ । तर, गोल गर्न सकिरहेको छैन ।
रक्षात्मक खेलिरहेको बंगलादेश काउन्टर अट्याकमा जोड दिइरहेको छ ।
‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा रहेको छ ।
पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।
नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ ।
यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।
यस्तै बंगलादेश जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ को ट्रफी घरमै राख्न चाहन्छ ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।