एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई जितका लागि १ सय ६४ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो ।
बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।
डेब्यु खेलाडी पडीक्कलले बैंगलोरका लागि ५६ रनको उत्कृष्ट इनिङ्स खेले । पहिलो विकेटका लागि २० वर्षीय पडीक्कलले आरोन फिन्चसँग ९० रनको साझेदारी गरे । फिन्च २९ रनमा आउट भए ।
यस्तै डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान विराट कोहली १४ रनमा आउट हुँदा शिवम डुबेले ७ रन बनाए ।
हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १/१ विकेट लिए ।
आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
अघिल्लो संकरणमा दुई टिमबीच दुई भेट भएको थियो । जसमा दुबै टिमले एक एक जित निकालेका थिए ।
पहिलो भेटमा हैदराबादले बैंगलोरलाई १ सय १८ रनले हराएको थियो । तर, दोस्रो भेटमा बैंगलोरले हैदराबादलाई ४ विकेटले हराएको थियो ।