काठमाडौं । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा अहिले साविक विजेता थ्री स्टार र गान्तोक सिटी एफसी सिक्किमबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र गान्तोकले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा दुवै टोलीले गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
थ्री स्टार पाहुना टोलीलाई हराएर उपाधि रक्षाको अभियानमा हुनेछ । गान्तोक साविक विजेतालाई हराएर अन्तिम चारमा पुग्न चाहन्छ ।
दुवै टिम बाई पाएर क्वाटरफाइनल खेल खेल्न लागेका हुन् ।
विजेताले सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।