काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक 'ए' डिभिजन लिग क्लबसँग छलफल गरेको छ ।
एन्फाले आगामी लिगका लागि विदेशी खेलाडीको दर्ता, खेलाडीको बीमा, प्रतियोगिता अघिको मेडिकल मूल्याङ्कन, क्लब लाइसेन्स र व्यावसायिक गाइडलाइन लगायतका विषयमा क्लबसँग छलफल गरेको हो ।
छलफलमा 'ए' डिभिजन लिग खेल्ने १४ क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यस्तै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, सदस्य पुरुषोत्तम थापा, महासचिव किरण राई, प्रवक्ता सुरेश शाह र प्रतियोगिता निर्देशक सञ्जीव मिश्रको सहभागिता थियो ।
क्लबहरुले बजारमा खेलाडी अभाव रहेको जनाउँदै विदेशी खेलाडीको कोटा बढाउन एन्फासँग माग गर्दै आएका छन्।
एन्फाले यस सिजनको लिग फागुन १९ गतेबाट सञ्चालन गर्दैछ । यस सिजन डबल राउण्ड रोबिनका आधारमा लिग सञ्चालन हुदैछ ।
तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्या समेत बढ्ने क्लबको चिन्ता छ । सोही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने क्लबहरुको माग छ ।
यस्तै एन्फाले 'ए' लिग क्लबका मिडिया अफिसरका लागि मिडिया सेमिनारको समेत आयोजना गरेको छ ।
एआईपीएस एशिया कोषाध्यक्ष तथा नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी र फोटो जर्नलिस्ट क्लबका पूर्व अध्यक्ष विकास कार्कीले सञ्चारकर्मीलाई विभिन्न पक्षबारे जानकारी गराएका थिए ।