काठमाडौं । ब्राजिल, कतार विश्वकप फुटबलमा शीर्ष वरियताको टिम हुने भएका छन् । बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनीक गरेको वरियता अनुसार ब्राजिल शीर्ष वरियतामा छ । दोस्रो स्थानमा बेल्जियम रहेको छ ।
विश्वकपको प्रत्येक संस्करणमा सहभागी हुने ब्राजिल एक्लो टिम हो । कतारमा अर्को महिना हुने विश्वकपमा ब्राजिलले प्रतियोगिताको छैटौं उपाधिका लागि प्रयास गर्नेछ ।
ब्राजिलले गत महिना सेप्टेम्बरमा दुई 'वार्मअप म्याच' जितेको थियो । एक घाना र अर्को ट्युनेशियाविरुद्ध । सोही अनुसार बेल्जियमले यूईएफए नेसन्स लिगमा नेदरल्याण्डसँग हार ब्यहोरेको थियो ।
अर्जेन्टिना फिफा वरियताको तेस्रो नम्बरमा हुँदा सन् २०१८ को विश्व विजेता फ्रान्स चौथो नम्बरमा छ । फिफा विश्वकप कतारमा नोभेम्बर २० देखि सुरु हुदैछ ।
फिफा विश्वकपमा आयोजक कतार ५० औं वरियताको टिम हो भने साउदी अरेबिया ५१ औं वरियता र घाना सबैभन्दा तल्लो ६१ औं वरियताको टिम हो ।
विश्वकपको समूह बीमा बलियो वरियताका चार टिम छन् । सो समूहमा शीर्ष २० भित्र पर्ने पाँचौ नम्बरको इङ्ल्याण्ड, १६ औं नम्बरमा पर्ने अमेरिका, १९ औं नम्बरमा पर्ने वेल्स र २० औं नम्बरमा पर्ने इरान सहभागी छन् ।
फिफा वरियताको छैटौं नम्बरमा रहेको इटाली विश्वकपमा छनोट हुन असफल हुने उच्च वरियताको देश हो । उसले लगातार दोस्रो पटक विश्वकप गुमाएको हो । एक स्थान तल झदै स्पेन सातौं नम्बरमा रहदाँ नेदरल्याण्ड, पोर्चुगल र डेनमार्क वरियतामा यथावत रहदै शीर्ष १० टिमभित्र छन् ।
सन् २०१४ को विश्व विजेता जर्मनी वरियताको ११ औं स्थानमा छ । सन् २०१८ को विश्वकप फाईनल खेलेको क्रोएसिया जर्मनी भन्दा पछि छ ।
युक्रेन युद्धमा फसेको रुसले सन् २०२२ मा कुनै प्रतियोगितामा मान्यता पाउन सकेन । रुस फिफा वरियताको ३३ औं स्थानमा छ ।