सुशान्त राज
काठमाडौं । नेपालको शीर्ष डिभिजनको क्लब न्युरोड टिम (एनआरटी) मलेसिया भ्रमणमा निस्कदैछ । असार १४ गतेबाट सुरु हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्न नेपाली क्लब मलेसिया जान लागेको हो ।
मलेसियाको पेनाङ शहरका प्रमुख मिस्टर याङले पद भार ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको प्रतियोगितामा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग टू क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ । तीन क्लब सहभागी प्रतियोगिता असार १८ गते सम्म चल्ने तालिका रहेको छ ।
प्रतियोगितामा तीन वटै टिम एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टिमले फाईनलमा स्थान बनाउनेछन् । विजेता टिमले प्रतियोगिताको उपाधि हात पार्नेछ ।
प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट अर्थात २ लाख ८५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट अर्थात एक लाख ४२ हजार रुपैयाँ पुरस्कार जित्नेछ ।
टीवाईटी कप खेल्न असार १४ गते मलेसिया हिड्न लागेको एनआरटीले पहिलो खेल असार १६ गते बिहिबार साँझ ६ बजे ईन्डोनेसियाको लिग टू क्लब कारो युनाईटेबिरुद्ध खेल्नेछ ।
त्यस्तै दोस्रो खेलमा असार १८ गते शनिवार नेपाली समय अनुसार साँझ साढे ६ बजे घरेलु टोली पेनाङ एफसीको सामना गर्नेछ ।
टीवाईटी कप सकेर एनआरटीको टोली थप तीन मैत्रीपूर्ण खेलका लागि थाईल्याण्ड भ्रमणमा निस्कनेछ । थाईल्याण्ड पुगेर टोलीले थाई लिग वान क्लब चोनबुरी एफसीसँग एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
सहिद स्मारक ए डिभिजन लिग आउन अझै केही समय बाँकी छ । तर एनआरटी लिगको तयारीमा जुटिसकेको छ । प्रि सिजनको तयारीमा रहेको कुनैपनि नेपाली क्लब विदेश भ्रमणमा निस्कन लागेको पहिलो पटक हो ।
मलेसिया र थाईल्याण्ड भ्रमणमा निस्कदै गर्दा एनआरटीले अन्य ए डिभिजन क्लबका ९ खेलाडीलाई अनुबन्ध गरेको छ । एनआरटीको टोलीमा मछिन्द्रका विशाल राई र रेजिन धिमालसँगै छिरिङ गुरुङ छन् । थ्री स्टारका सन्जोक राई, च्यासलका रमेश बर्ताैला, संकटाका सुवास गुरुङ, जावलाखेलका निकोलस फर्नान्डेस र गौरव श्रेष्ठलाई समेत एनआरटीले अनुबन्ध गरेको छ ।
नयाँ खेलाडीको रुपमा क्यामरुनका गोलरक्षक टोलो ल्यान्ड्री आएका छन् । दिपेश घले, मेसुके ओलोमोउ, स्टेफन समिर विनोङ, शिव गुरुङ, सरोज तामाङ, अशोक थापा मगरलाई निरन्तरता दिदा राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ र एरिक विष्ट भने टोलीमा छैनन् ।
टोलीको प्रशिक्षण ‘ए’ लेभल लाइसेन्स प्राप्त युवा प्रशिक्षक जीवन सिन्केमानले सम्हालेका छन् । उनी गत सिजन क्लबको सहायक प्रशिक्षक थिए । विदेश भ्रमण गर्ने टोलीको कप्तानी भने मछिन्द्रबाट आएका रेजिन धिमालले गर्नेछन् ।
प्रि–सिजन टूर अन्तर्गत मलेसिया र थाइल्याण्ड भ्रमणमा निस्कनु अघि शनिबार दशरथ रंगशालामा आयोजित मैत्रीपूर्ण खेलमा एनआरटीले संकटालाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । तेस्रो स्थानमा रहदै गत सिजनको लिग सकेको एनआरटीको मलेसिया र थाईल्यान्ड भ्रमणलाई चासोका साथ हेरिएको छ ।
घरेलु मैदानमा व्यस्त रहने खेलाडी र क्लब लामो समयपछि प्रि सिजनको तयारीका लागि विदेश भ्रमणमा निस्कने लागेको हो । यो नेपाली क्लबलाई अन्तराष्ट्रिय मैदानमा आफ्नो स्तर जाँच्ने राम्रो अवसर पनि हो । घरेलु फुटबलको धनी क्लब मानिएको एनआरटीले यसको सुरुवात गरेको छ ।